लोकसेवा विज्ञापनको पक्ष विपक्षमा आज पनि प्रदर्शनः प्रशासनिक कू नगर्न चेतावनी

  • २९ जेष्ठ २०७६, बुधबार २०:२१
  • 1014 Views


Radin NRN

संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीको माइतीघरमा आज पनि प्रदर्शन भएको छ ।

साझा विवेकशील पार्टीको नेतृत्वमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित सभामा साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले हजारौँ युवाहरुको भविष्यमाथि खेलडाड नगर्न चेतावनी दिनुभयो ।

उहाँले संसदीय समितिले दिएको निर्देशन नमान्न लोक सेवा आयोगको पनि गम्भीर ध्यानाकर्षण गराउँदै युवाहरुलाई दबाब दिन आग्रह गर्नुभयो ।

प्रर्दशनका क्रममा युवा÷विद्यार्थीहरुले लोक सेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । यस्तै लोक सेवा आयोगले खुलाएको विज्ञापन समावेशी नभएकोले रद्द गर्न माग राखेर पनि काठमाडौँमा प्रदर्शन भएको छ ।

विभिन्न आदीवासी जनजाती संघ संगठनहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको राजीनामा समेत माग गरेका छन् ।

यता लोक सेवा आयोगले भने संविधानको परिधिभित्र रहेर विज्ञापन आव्हान गरेकोले रद्द नगर्ने स्पष्ट पारेको छ । लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्त सम्बन्धि विज्ञापन संविधानसम्मत भएको स्पष्ट पार्नुभयो । संविधानको परिधिभित्र रहर आफ्नो निर्णय आफै गर्न आयोग स्वतन्त्र रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता शर्माले राज्य व्यवस्था तथा सुशासन समितिले सो विज्ञापन रद्द गर्न दिएको निर्देशन छलफलको प्रक्रियामा रहेको र आयोगको पूर्ण बैठकले छिट्टै सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि स्पष्ट पार्नुभयो ।

यस्तै लोक सेवा आयोगका पूर्व कार्यबहाक अध्यक्ष टिकादत्त निरौलाले लोक सेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिनुभयो ।

निरौलाले लोक सेवा आयोगको मुख्य कामनै कर्मचारी छनौट गर्नु रहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काम उचित नभएको तर्क गर्नुभयो ।

संविधानमा व्यवस्था भए बमोजिम समावेशीताको सिद्धान्त विपरीत लोक सेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै अहिले आदीवासी जनजातीहरुले विरोध गरिरहेका छन् । तर लोक सेवा आयोग भने संविधानसम्मत विज्ञापन आव्हान गरेको दाबी गरिरहेको छ ।

यस्तो बेला लोक सेवा आयोगको परीक्षाका लागि वर्षाैँदेखि तयारी गरिरहेका विद्यार्थीहरु भने अन्यौलमा परेका छन् । सम्वन्धित पक्षले यथासक्य चाडो आवश्यक निर्णय गरेर यो अन्यौलता हटाउनुपर्छ ।

Avatar

Next Story