संसदमा विनियोजन विधेयकको मन्त्रालयगत छलफल सुरु, मन्त्रीसँग नेकपाका सांसदकै चर्काे असन्तुष्टि

  • २८ जेष्ठ २०७६, मंगलवार २०:३२
  • 897 Views
Radin NRN

काठमाडौँ । प्रतिनिधिसभामा आज (मंगलबार) देखि विनियोजन विधेयकको मन्त्रालयगत छलफल सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते पेस गरेको बजेटको मन्त्रालयगत छलफल सुरु भएको हो । आज युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास र अर्थ मन्त्रालयको छलफल भएको छ । छलफलका क्रममा सत्तारुढ प्रतिपक्षी दलका सांसदहरुले त विरोधको टिप्पणी गरे नै सत्तारुढ नेकपाका सांसदहरुले पनि मन्त्रालगत रुपमा विनियोजन भएको बजेटप्रति चर्को असन्तुष्टि पोखेका छन् ।

आफ्नो क्षेत्रमा बजेट नपारेको भन्दै सत्ता पक्षकै सांसदहरुले मन्त्रीको खेदो खनेका थिए । संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतमले नीति कार्यक्रमले सन्तुलित विकासको अवधारणा अघि सारे पनि मन्त्रालयगत विनियोजित बजटेले निराश बनाएको बताउनुभयो । उहाँले हिमाली जिल्लाका सांसदहरु एक साथ मन्त्रीसँग कुराकानी गर्न आउन लागेको जानकारी दिँदै तयारी अवस्थामा बस्न मन्त्रीलाई चेतावनी दिनुभयो ।

त्यस्तै कैलालीबाट निर्वाचित नेकपाकै सांसद झपट रावलले शहरी विकास मन्त्रालयको बजेटको विरोधमा रोष्टममा गएर मौन विरोध गर्नुभयो । उहाँले ‘म शहरी विकास मन्त्रालयको बजेटबारे बोल्न चाहन्छु’ भन्दै मौन विरोध जनाउनुभयो । सभामुखको भूमिका निर्वाह गरिरहनुभएकी राधा ज्ञवालीले बोल्न आग्रह गरे पनि रावलले ‘किताबमा नअटेको हुनाले मौन बसेको हुँ’ भन्ने जवाफ दिनुभयो । ज्ञवालीले फेरि ‘सांकेतिक विरोध भइसकेको छ अब बोल्नुहोस्’ भन्दा रावलले ‘सभामुख महोदय भए पो बोल्नु’ भन्दै संसदलाई नै हसाउनुभयो ।

केही समय मौन बसेर आक्रोशित मुद्रामा बोल्न सुरु गरेका रावलले शहरी विकासमन्त्री महोमत इस्तियाक राईले ‘मैं खाउ मैं लगाउ’ भन्ने मानसिकताबाट बजेट बनाएको आरोप लगाउनुभयो । उहाँले शहरी विकास मन्त्रालयको बजेट मन्त्री र नेता केन्द्रित भएको आरोप लगाउदै बजेट बनाउने योग्यता हेर्दा दया लागेको टिप्पणी गर्नुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु पनि मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटको आलोचना गरेका थिए । कांग्रेसका सांसदहरु देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, राजेन्द्र केसीलगायतले मन्त्रालगत बजेट असन्तुलित र भद्दा भएको टिप्पणी गर्नुभयो । सांसद संग्रौलाले बजेट मन्त्री र प्रधानमन्त्रीमुखी भएको आरोप लगाउनुभयो ।

गत वर्ष पनि सत्ता पक्षकै सांसदले मन्त्रालगत रुपमा विनियोजन गरेको बजेटमाथि चर्को विरोध गरेपछि संसदीय दलको बैठक राखेर विरोध नगर्न निर्देशन दिइएको थियो । यसपटक पनि मन्त्रीहरुले आ–आफ्नो क्षेत्रलाई मात्रै प्राथमिकता दिएपछि सत्तारुढ सांसदले नै विरोध गरेका हुन् । मन्त्रालयगत यो छलफल असार ३ गतेसम्म चल्ने छ । त्यसपछि चार गतेदेखि आठ गतेसम्म मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयगतसँग सम्बन्धित विषयहरुबारे जवाफ दिनेछन् ।

Avatar

Next Story