लोकसेवाको विज्ञापन बारे मन्त्रालय र आयोग आन्तरिक छलफलमा

  • २८ जेष्ठ २०७६, मंगलवार ०९:३८
  • 1001 Views


radionrn

कर्मचारी भर्नासम्वन्धी विज्ञापन रद्ध गर्ने की नगर्ने भन्ने बारेमा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगले आज छलफल गर्ने भएका छन् ।

संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिले आयोगको पछिल्लो विज्ञापन समावेशी र संघीयताको भावना विपरित भएको भन्दै रद्ध गर्न निर्देशन दिएपछि मन्त्रालय र आयोगले आज छलफल गर्ने भएका हुन् । समितिले विज्ञापन रद्ध गर्नु निर्देशन दिएपछि मन्त्रालय र आयोग भने रद्ध नगर्ने पक्षमा रहेका छन् ।

मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालले समितिको चिठी हिजो अबेर मात्रै प्राप्त भएको र त्यो छलफलकै क्रममा रहेकोले के गर्ने भन्ने बारेमा अहिले सम्म स्पष्ट हुन नसकेको बताउनु भयो । आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले पनि समितिको पत्र प्राप्त भएपछि आयोगको बैठकबाट निर्णय हुने जानकारी दिनुभयो ।

सहसचिव बरालका अनुसार स्थानीय तहमा ६६ हजार दरबन्दी स्वीकृत भएकामा समायोजनपछि पनि २४ हजार रिक्त छन् । उहाँले यस प्रक्रियामा मन्त्रिपरिषद्को निर्णय समेत जोडिएकाले आगामी प्रक्रियामा पनि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्न सक्ने बताउनु भयो ।

स्थानीय तहको माग र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर विज्ञापन गरिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव यादव कोइरालाले संसदीय समितिमा जिकिर गर्नु भएको थियो ।

आयोगको विज्ञापनपछि हिजोसम्म लोकसेवा कार्यालयहरूमा ७७ हजार ३ सय २५ जनाले आवेदन दिइसकेका छन् । समितिको निर्णय र सरकारको अडान फरक फरक भएकाले आवेदन अन्यौलमा परेको छ ।

Avatar

Next Story