इटहरीका मेयर चौधरीमाथि फौजदारी मुद्दा चलाउन सांसदहरुको माग, दुई तिहाइको दम्भ नदेखाउन कांग्रेसको चेतावनी

  • २३ जेष्ठ २०७६, बिहीबार २०:३५
  • 1118 Views
Radin NRN

सरकारले पत्रकारिता पेशालाई मर्यादीत बनाउन आचार संहिता उलंघन गरेमा मात्रै १० लाख जरिवानासम्मको कठोर कानुन निमार्णको तयारी गरिरहेको छ । यसका लागि सदनमा मिडिया काउन्सिल विधेयक दर्ता भइसकेको छ ।

यो विधेयकको आम पत्रकारहरुसँगै प्रमुख प्रतिपक्षीसहितका दलहरुले विरोध जनाइरहेका बेला पत्रकारहरुमाथि सत्तापक्षबाटै ज्यान मार्ने धम्की आउन थालेका छन् ।

विभिन्न स्थानमा पत्रकारहरु कुटिएका घटना सार्वजनिक भइरहेको बेला इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकारको हत्या गर्न गुण्डालाई सुपारी दिइसकेको धम्की दिएपछि नेपाली पत्रकारिता जगत असुरक्षित महसुस गरिरहेको छ ।

केही साता अघि इटहरीका मेयर द्वारिकालाल चौधरीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  उक्त भिडियोमा मेयर चौधरीले इटहरीकै एक पत्रकारलाई लोपारीदिने धम्की दिएका थिए ।

आफू कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको धम्की दिएका उनले व्यापक आलोचनापछि आवेगमा त्यसो गरेको भनेर विज्ञप्ति निकाल्दै माफी मागे । तर उनलाई कारबाहीको कुरा कहिँ कतैबाट उठेन ।

तिनै मेयर चौधरी अहिले फेरि विवादमा तानिएका छन् पत्रकारलाई सिद्धाइदिने धम्की दिएर । उनले इटहरीका एक पत्रकारसँगको टेलिफोन कुराकानीमा उनलाई ज्यान मार्ने धम्की दिएका छन् ।

पत्रकारलाई सिद्धाउन गुण्डालाई सुपारी दिइसकेको र नाकको डाँडी भाच्न एक करोड छुट्याएको भन्दै उनले धम्की दिएको भिडियो अहिले भाइरल बनेको छ । जनप्रतिनिधिहरुबाटै यसरी पत्रकारलाई सिद्धाइदिने धम्की आउन थालेपछि पत्रकारहरु शशंकित भएका छन् ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले जनप्रतिनिधिका यस्ता हर्कत गर्नेलाई तत्काल राज्यले कारबाहीको दायरा भित्र ल्याउनुपर्ने माग गर्नुभयो ।

हुन त मेयर चौधरीलाई सत्तारुढ नेकपाका नेताहरुले आफ्नो अभिव्यक्तिप्रति माफी माग्न आग्रह गरेका छन् । तर के यो विषय माफी मागेर समाधान हुने खालको छ त ? यसमा पनि बहस आवश्यक छ । यसैबिच पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

आज प्रतिनिधिसभाको शून्य समयमा कांग्रेस सांसद सुजाता परियारले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत धम्की दिएकाले फौजदारी कानुनअन्तरगत कारबाही गर्न माग गर्नुभयो ।

सांसद हिरा गुरुङले पनि इटहरीका उपमहानगरपालिका मेयरले दुई तिहाइको दभ्भ देखाएको आरोप लगाउनुभयो । उहाँले मेयरलाई फौजदारी अपराधअन्तरत कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

पत्रकारको नाकको डाँडी भाच्न एक करोड र एक घडेरी छुट्याएको धम्की दिने मेयर चौधरी आफूलाई कम्युनिष्ट पार्टीको इमान्दार कार्यकर्ता भन्न रुचाउने उनको अभिव्यक्तिले प्रष्ट्याउछ ।

यसअघि पत्रकारलाई सार्वजनिक स्थानमै लोपारीदिने धम्की दिएका मेयर चौधरीलाई दुई तिहाइको सरकारले कारबाही गर्न सकेको भए उनले फेरि दोस्रो पटक पत्रकारको नाकको डाँडी भाच्न एक करोड छुट्याएको भनेर धम्की दिने हिम्मत गर्ने थिएनन होला सायद ।

Avatar

Next Story