सामूदायिक बिद्यालयमा जंक फुड निषेध

  • २१ जेष्ठ २०७६, मंगलवार १५:४५
  • 585 Views
Radin NRN

साजन परियार,पर्वत 
पर्वतको विहादी गाउँपालिकाले सामुदायिक विद्यालयमा जंक फुड निषेध गरेको छ । विद्यालयमा चाउचाउ, कुरकुरे, विस्कुट लगायतका प्लाष्टिकमा प्याकिङ गरिएका खानेकुरा र चटपटे निषेध गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकाले जंक फुड खाने चलन बढ्दै जाँदा यसले विद्यार्थीहरुको स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकोले निषेध गरेको गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा जंक फुड निषेध गरेपछि घरबाटै खाजा ल्याउनु पर्ने नियम बनाइएको छ । आगामी वर्ष सबै विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा जंक फुड रोकेको छ भने घरमा पनि यस्ता खानेकुरा बालबच्चालाई नदिन सचेतना फैलाइरहेको अध्यक्ष भुसालले बताउनुभयो । उहाँले गाउँपालिकाले साना बालबालिकालाई जंक फुड खान नदिन अभिभावकहरुलाई नै सचेत गराउनुपर्ने भएकाले घरघरै पुगेर सम्झाउन थालिएको बताउनुभयो ।

गाउँपालिकाले बालबालिकालाई घरबाटै चामल, मकै, कोदो, गहुँ लगायतका घरेलु अन्नका खाजा बनाएर पठाउन अभिभावकहरुलाई प्रेरित गरिरहेको छ । गाउँपालिकाले खाजा ल्याउन बालबालिकालाई टिफिन वितरण गर्न थालेको छ । सबै विद्यालयका बालबालिकालाई खाजा ल्याउने टिफिन वक्स दिने भुसालले बताउनुभयो ।

Avatar

Next Story