मिडिया काउन्सिल विधेयकबारे नेकपाका नेताकै आपत्ति, सच्याउनु पर्ने भनेपछि सरकार अप्ठ्यारोमा

  • ६ जेष्ठ २०७६, सोमबार १९:५२
  • 1781 Views
Radin NRN

काठमाडौँ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधानबारे तीव्र असन्तुष्टि र विरोध प्रकट भइरहेका बेला आइतबार नेकपाले पार्टी निकट पत्रकारहरुलाई छलफलका लागि बोलायो ।  सो छलफलमा सहभागी भएका अधिकांश पत्रकारहरुले त मिडिया काउन्सिल विधेयकको विरोध गरे नै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले समेत असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले पार्टीभित्र कुनै छलफल नै नगरी विधेयक दर्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि कार्यक्रममा उपस्थित सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले केही बुँदाहरु छलफलका आधारमा परिमार्जन गर्न सकिने बताउनुभयो ।

मिडिया काउन्सिल विधेयकबारे भइरहेको विरोध थामथुम गर्ने प्रयास स्वरुप आयोजना गरिएको छलफलमा स्वमं शीर्ष नेताहरुले नै यसप्रति आपत्ति जनाएपछि सञ्चारमन्त्री अप्ठ्यारोमा परे । विरोधको सिलसिला रोकिएन ।

पत्रकारहरुसँग भएको छलफलको दोस्रो दिन नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले पनि यो विधेयकका केही बुँदा गलत रहेको भन्दै पत्रकारको आन्दोलनमा समर्थन जनाएका छन् । कार्यक्रमका सिलसिलामा झापा पुग्नुभएका नेता झलनाथ खनालले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारले थालेको आन्दोलन गलत नभएको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयकका कतिपय बुँदाहरु परिमाजर्न गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

यस्तै नेकपाका अर्का प्रभावशाली नेता भीम रावलले पनि स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने कानुन बन्न नहुने बताउनुभएको छ । आज रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा रावलले प्रेस जगत लोकतन्त्रको खम्बा रहेकोले स्वतन्त्र प्रेसलाई कुण्ठित पार्ने काम गणतन्त्रमा हुन नहुने बताउनुभयो । उहाँले संविधान निर्माण गर्दा नै गहन छलफल गरेर प्रेस स्वतन्त्रताको पक्षमा गरिएको व्यवस्थालाई कुल्चिन नहुने बताउनुभयो ।

मिडिया काउन्सिल विधेयक सच्याउन माग राख्दै मुलुकभरका पत्रकारहरु आन्दोलनमा छन् । पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पार्टीभित्रैबाट विधेयकको आलोचना हुन थालेपछि सरकारका प्रवक्ता गोकुल बास्कोटाले यसलाई परिमार्जन गर्ने आश्वासन दिइसकेका छन् । त्यसैले हतारमा विधेयक ल्याएर आलोचना खेप्नुभन्दा पर्याप्त छलफल गरेर निष्कर्षमा पुग्न सरकारले ध्यान दिनुपर्छ ।

Avatar

Next Story