पर्वत: तल्लो मोदीको उत्पादनमा ढिलाई

  • ६ जेष्ठ २०७६, सोमबार १९:१९
  • 1209 Views
Radin NRN

साजन परियार, पर्वत । पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिँदा दुई महिनाअघि परीक्षण उत्पादनको तयारी गरेको तल्लो मोदीको काममा ढिलाइ भएको छ । परादीस्थित पावर हाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब ७ मिटर नपुग्दा उत्पादनमा ३ महिना बढी ढिलाइ हुने देखिएको हो ।

आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौं नोक्सान हुने बताएको छ । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावर हाउसदेखि प्रसारण लाइनसम्म र्पुयाउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो ।

चैतमा परीक्षण उत्पादनको दाबी गरेको आयोजनाको तार छोटो भएपछि अहिलेसम्म नयाँ तार तान्ने काम हुन सकेको छैन ।
पावर हाउसदेखि प्रसारण लाइनसम्म विद्युत् पठाउन आयोजनाले एउटा मात्रै टावर बनाए पुग्छ । टावरका सबैजसो संरचना पूरा गरेको आयोजनाले ७ मिटर तारकै कारण उत्पादन दिन ढिलाइ गर्नुपरेको हो ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो ।

लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको प्रमुख पावन यादवले बताउँदैआएका थिए । मनाङ ट्रेड लिङ, फेवा कन्स्ट्रक्सनलगायतका व्यवसायी कम्पनीले टनेल, पावर हाउस र ड्याम क्षेत्रमा काम गरेका थिए ।

विद्युुत् गृहदेखि प्रसारण लाइनसम्म पावर जोड्ने काम अन्तिम चरणमा पुगेका बेला ७ मिटर मात्रै तार कम हुँदा उत्पादन दिन नसकिएको आयोजनाले जनाएको छ । उत्पादन मिति पटकपटक सरेका कारण परीक्ष्ँण उत्पादनको समय तोक्न नमिल्ने उनले बताए । ३ अर्ब ६० करोडको लागत स्टिमेटमा सुरु आयोजनाले निर्धा्रित समयमा उत्पादन दिन नसकेपछि लागत पनि बढेको छ ।

Avatar

Next Story