नेपाल पत्रकार महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्दै

  • ६ जेष्ठ २०७६, सोमबार ०८:२९
  • 1430 Views
Radin NRN

काठमाडौँ । नेपाल पत्रकार महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्न लागेको छ । महासंघको हिजो बसेको बैठक यो महिना भरीका लागि घोषणा गरेको आन्दोलन आजदेखि सुरु हुन लागेको हो ।

मिडिया काउन्सील विधेयक लगायतका विधेयकहरुले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता निमोठ्न लागिएको भन्दै महासंघले यसअघि पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।

घोषित दोस्रो चरणको कार्यक्रम अनुसार आज र भोली महासंघले आफ्ना पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने भएको छ ।
त्यसैगरी यही जेठ ८ गते संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने छ भने जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गरी सञ्चार अभियान सञ्चालन गर्ने जनाएको छ ।

महासंघले जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ भने जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता लिने भएको छ ।

जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएट शाखाहरुको आयोजनामा मिडिया काउन्सील विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने कार्यक्रम तय भएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने । उहाँका अनुसार महासंघले जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने छ ।

जेठ २५ गते अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने कार्यक्रम पत्रकार महासंघले तय गरेको छ । सोही दिन काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा यस्तै कार्यक्रम प्रदेश समितिको संयोजनमा हुने भएको छ ।

महासंघले मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन भने देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने तयारी पनि गरिसकेको सचिव दाहालले जानकारी दिनुभयो ।

Avatar

Next Story