सबै तहका कर्मचारीको कार्यसम्पादन सम्झौता अनिवार्य हुने व्यवस्था गर्न सांसदहरुको माग

  • ३१ बैशाख २०७६, मंगलवार १८:२५
  • 715 Views
Radin NRN

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सबै तहका कर्मचारीको कार्यसम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारुढ नेकपाका सांसद रामकुमारी झाँक्री र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कर्मचारीहरुलाई कार्यसम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था गर्न माग गर्नु भएको हो ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद झाँक्रीले तल्लो तहका कर्मचारीलाई कार्यसम्पादन सम्झौता नगर्ने विधेयकको प्रावधानप्रति आपत्ति जनाउनु भयो । समितिका अर्का सदस्य सांसद बडुले सबै तहका कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कार्यसम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था अनिवार्य राख्नुपर्ने तर्क गर्नुभयो ।

उहाले सबै तहका कर्मचारीहरुको आ–आफ्नै जिम्मेवारी हुने भएकाले उनीहरुको कार्यसम्पादन सम्झौतालाई अनिवार्य बनाउने काममो ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।

यता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने बोझिलो हुने भएकाले तल्लो तहका कर्मचारीलाई कार्यसम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था नगर्ने गरी विधेयक ल्याइएको जवाफ दिनु भएको थियो ।

मन्त्री पण्डितले माथिल्लो तहका कर्मचारीहरुले भने विशेष जिम्मेवारी पनि पाउने भएकाले उनीहरुको हकमा भने अनिवार्य कार्यसम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था विधेयकमा पनि प्रस्ताव गरिएको स्मरण गर्नु भयो ।

Avatar

Next Story