म्याग्दीमा मिस्त्रीखोलाको सुरुङ जोडियो

  • २९ बैशाख २०७६, आईतवार १६:३२
  • 650 Views
Radin NRN

राकेश शर्मा,म्याग्दी
हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । रोवस्ट इजर्नी प्रा.लीद्धारा निर्माणाधिन ४२ मेगावाट क्षमताको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ जोडिएको हो ।

सन. २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो । बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार तीन सय ४४ दशमलब पाँच मिटर सुरुङ खनेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो । नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण गरिएको हो ।

बाँध, विद्युतगृह बनाउने, पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण अन्तिम चरणमा पुगेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भुमिगत हो ।

पहाड भित्र ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भुमिगत पोखरी बनाइएको हो । आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान कार्य असी प्रतिशत सकिएको छ । आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण गरेको छ । पाँच अरब ६४ करोड रुपैयाको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।

Avatar

Next Story