सोरठी नाच पर्वतमा सय वर्षपछि नाच्न थालियो

  • २९ बैशाख २०७६, आईतवार १५:५१
  • 494 Views
Radin NRN

साजन परियार, पर्वत
पर्वतमा मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो ।

मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि सोरठी गाउन छाडिएको थियो। तर पुन मगरको कुल देवता करवाकेलीको पूजा गर्ने समयमा अरू गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो ।

गत वर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम लिएपछि यहाँ सोरठी शुरु भएको छ । सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ ।

सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताउनुभयो । आफ्नो बाजेको पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अब यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उहाँको भनाइ छ ।

Avatar

Next Story