सरकारले समृद्धिको सपना बाँडेर अधिनायकवाद लाद्न खोजेको कांग्रेस सभापतिको आरोप, नेकपाका नेता सोध्छन् ‘चारपटक प्रधानमन्त्री भएका देउवाले के गरे?’

  • २८ बैशाख २०७६, शनिबार २०:३२
  • 910 Views


Radin NRN

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोज्नु दुर्भाग्य भएको बताउनुभएको छ । स्वतन्त्र प्रेसमाथि सरकार निरंकुश बन्दै गएको उहाँले बताउनुभयो । प्रेससहित सबै क्षेत्रमा हस्तक्षेप गर्न खोजेर सरकारले अधिनायकवादको रुप धारण गरिरहेको देउवाको आरोप छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता देउवाले संसदमा सभामुखको भूमिका पनि राम्रो नभएको बताउनुभयो । देउवाले मुलुकको विकासका लागि नेकपाको सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो । कांग्रेसको सरकार भएका बेला गरिएका विकासका कामलाई पनि वर्तमान सरकारले आफूले गरेको भन्दै प्रचार गरिरहेको देउवाको आरोप थियो ।

उहाँले ओली सरकारबाट विकासको अपेक्षा राखेका जनता निराश भइसकेको बताउनुभयो । तर यता सत्तारुढ नेकपाका नेता लेखराज भट्टले भने चार चार पटक प्रधानमन्त्री भएका देउवाले विकासका नाममा केही गर्न नसकेको आरोप लगाउनुभएको छ । चार पटक प्रधानमन्त्री भएका बेला केही नगर्ने तर अहिले समृद्धिको यात्रामा रहेको सरकारलाई जभाभावी आरोप लगाउन नहुने भट्टको संकेत थियो ।

देउवासमेत सहभागी एक कार्यक्रममा नेता भट्टले चारपटक प्रधानमन्त्री भएर देउवाले के के गर्नसक्नु भएको छ त्यसको समिक्षा स्वम उहाँले नै गर्न आवश्यक रहेको बताउनुभयो ।

सत्तामा रहेका बेला जनताको विकासको चाहना पूरा गर्नु नेताहरुको दायीत्व हो किनभने सबै नेताले चुनावका बेला जनतासामु विकासको बाचा गरेर भोट मागेका हुन्छन् । तर सत्तारोहण भएपछि भने विकास नामको शब्द नेताहरुले सुन्न नै नचाहने गरेको आम जनताको आरोप छ । जनचाहना बमोजिम विकासको सपना पूरा गर्न नेपालका नेताहरुलाई कसले रोकेको छ ? प्रश्न जटिल नभएपनि यसको उत्तर नेताहरुले अहिलेसम्म पनि सजिलो ढंगले दिन सकेका छैनन् ।

Avatar

Next Story