बौद्ध-जोरपाटी सडक आइतबारदेखि कालोपत्रे हुने, आन्दोलन स्थगित

  • २७ बैशाख २०७६, शुक्रबार १८:२३
  • 702 Views
Radin NRN

काठमाडौं । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डको टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ।

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले यातायात अवरुद्ध पारी सडक कालोपत्रे गर्न माग गरेका थिए।

सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ।

स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्रे गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ।

बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंका अनुसार कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य शुक्रबारदेखि शुरु गर्ने सहमति भएको छ।

ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईंले बताउनुभयो ।

बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिनुभयो ।

Avatar

Next Story