भ्रमणकै नाममा सरकारले सिध्यायाे एक महिनामा ८२ लाख

  • ५ बैशाख २०७६, बिहीबार १४:००
  • 897 Views
radionrn

सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को चैत महिनामा मात्रै भ्रमणका नाममा ८२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ।

अर्थ मन्त्रालयले चैत महिनामा मात्रै भ्रमण तथा स्वागत शिर्षकमा ८२ लाख ७२ हजार ४ सय ९ रुपैयाँ निकासी गरेको हो।

यो निकासी रकम बजेटभन्दा बाहिरबाट गरिएको हो। मन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत सेप्टेम्बर ३ देखि ७ सम्म भारतमा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्याक्रममा भाग लिन गएका डाक्टर विकास देवकोटालाई दैनिक भत्ताका लागि भन्दै एक लाख ३७ हजार ८ सय ३७ रुपैयाँ निकासी गरेको हो।

यसैगरी अर्थ मन्त्रालयले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली राष्ट्र संघीय मानवअधिकार परिषद्‌को ४०औं बैठकमा सहभागी हुन जाँदाको भ्रमण प्रतिनिधिमण्डलको नाममा ४४ लाख ४१ हजार ७ सय ६७ रुपैयाँ चैत महिनामै निकासी गरेको छ।

स्वास्थ्य मन्त्रालयमार्फत भारतमा सम्पन्न भएको ‘ग्लोबल डिजिटल हेल्थ पाट्नरसिप’मा सहभागी भएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको भ्रमण प्रतिनिधिमण्डलले गरेको खर्च शिर्षकमा २ लाख १ हजार ७ सय २ रुपैयाँ निकासी गरेको छ।

साथै, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटको स्पेन भ्रमण प्रतिनिधिमण्डलको नाममा पनि चैत महिनामै अर्थ मन्त्रालयले २६ लाख १० हजार रुपैयाँ भन्दा बढी रकम निकासी गरेको छ।

कृषि तथा पशुपन्छी राज्यमन्त्रीको भ्रमण टोली इटाली जाँदा भएको खर्चवापत पनि अर्थ मन्त्रालयले ८ लाख ८० हजार रुपैयाँ भन्दा बढी रकम निकासी गरेको छ। अर्थ मन्त्रालयले चैत महिनामै ११ अर्ब ८८ करोड १० लाख ४२ हजार १ सय ८५ रुपैयाँ रकमान्तर गरेको छ।

भ्रमणबाहेक मन्त्रालयले साढे दुई किलोमिटर लामो नागढुंगा-नौबिसे सुरुङ मार्ग निर्माणका क्रममा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा वितरणका लागि एक अर्ब ८१ करोड रुपैयाँ रकमान्तर निकासा दिइएको छ।

यसैगरी अर्थ मन्त्रालयले चैत महिनामा पिण्डेश्वर अर्धकुम्भ मेला सुनसरीलाई ५० लाख र १२औँ राष्ट्रिय बौद्ध सम्मेलनको लागि धर्मोदय सभा काठमाडौंलाई १० लाख रुपैयाँ रकमान्तर निकासा दिएको छ।

काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा भएको खर्च दुई करोड ३४ लाख रुपैयाँ यसपटक अर्थले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको छ।

Avatar

Next Story