नेपालकाे पहिलाे भू-उपग्रह अन्तरिक्षमा प्रक्षेपण, मौसम, पानी, तापक्रमबारे तस्बिर प्राप्त गर्न सकिने

  • ५ बैशाख २०७६, बिहीबार १२:०७
  • 949 Views
radionrn

नेपालकाे स्याटेलाइट अर्थात् भू-उपग्रह पहिलाेपटक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ।

अमेरिकी अन्तरिक्ष निकाय नेसनल एराेनाेटिक्स एन्ड स्पेस एडमिन्सट्रेसन (नासा) का अनुसार साे स्टालाइट भर्जिनिया राज्यको तटस्थित वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ प्रक्षेपण गरीएकाे हाे।

साे भू-उपग्रह नेपाली समयानुसार बिहीबार बिहान २ः३१ मा प्रक्षेपण गरिएकाे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले जनाएकाे छ।

भू-उपग्रह आकारमा सानाे भए पनि नेपालकाे इतिहासमा पहिलाेपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा भू-उपग्रह पुग्ने भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरिरहेका छन्।

‘वर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम’ अनुसार नेपालीसहित ३ देशका भू-उपग्रहलाई एकैसाथ अन्तरिक्षमा पठाइएको हो। यस कार्यक्रमअन्तर्गत नेपालसहित श्रीलंका र जापानकाे पनि भू-उपग्रह साेतर्फ पठाइएकाे छ।

नेपाली भू-उपग्रहलाई ‘नेपाली स्याट-१’ नाम दिइएको छ। नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखेर अन्तरिक्षमा प्रक्षेपण गरिएकाे हाे।

नेपाली भू-उपग्रहकाे निर्माण नेपाली वैज्ञानिक आभाष मास्केसहितकाे टाेलीले गरेकाे हाे। भू-उपग्रहलाई जापानमा निर्माण गरिएकाे हाे। उनका अनुसार ‘नेपाली स्याट-१’ काे ताैल एक किलो ३ सय ग्राम छ।

नेपालकाे इतिहासमा पहिलाे पटक प्रक्षेपण भएकाे यस भू-उपग्रहकाे निर्माण तथा प्रक्षेपणका लागि नेपाल सरकारकाे प्रतक्ष संलग्नता थियाे। नास्टका अनुसार यस कार्यक्रमका लागि सरकारले २ कराेड रुपैयाँ बजेट विनियाेजन गरेकाे थियाे। नेपालले यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकाेले सरकारले प्रत्यक्ष सराेकार राख्नुपर्नेमा वैज्ञानिकहरु जाेड दिन्छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगिसकेपछि याे भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ। साेपश्तात् मात्रै यसले काम गर्न थाल्नेछ। अन्तरिक्षमा पृथ्वीलाई चक्कर लगाउने यसल भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ।

यसको सहयाेगबाट नेपालले आफ्नो भू-भागको मौसम, पानी, तापक्रम आदिका बारेमा जानकारी प्राप्त गर्नसक्छ। यसका लागि भू-उपग्रहबाट प्राप्त गरिने तस्बिरहरू स्राेत हुनेछन्। नास्टका अनुसार ती तस्बिरहरु प्राप्त हुनासाथ सञ्चारमाध्यममा समेत प्रकाशित गरिनेछ।

साे प्राप्त गर्नका लागि नेपालले आफ्नै एक स्टेसन तयार गर्नुपर्ने हुन्छ। साेकाे तयारी भइरहेकाे र निर्माण प्रकृया पनि चाँडै फत्ते हुने नास्टले जनाएकाे छ।

सामान्यतया यस्ता भू-उपग्रहहरु ३ महिनादेखि १ वर्षसम्म अन्तरिक्षमा रहनसक्ने भएपनि कुनै-कुनै भू-उपग्रहहरु भने १० वर्षसम्म पनि अन्तरिक्षमा रहनसक्ने बताइएकाे छ। ‘नेपाली स्याट-१’ भने लामाे समय अन्तरिक्षमा नरहने बताइएकाे छ।

Avatar

Next Story