आज सिरुवा जुडशितल पर्व , प्रदेश २ मा आज सार्वजनिक बिदा

  • २ बैशाख २०७६, सोमबार ०९:५१
  • 637 Views
radionrn

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नुरहेको छ ।

जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिइ आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । प्रदेश २ सरकारले आज जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

यसैगरी नयाँ वर्षको रुपमा मनाइने सिरुवापर्व पनि आज केहि जिल्लामा मनाईदैछ । तीनदिन सम्म यो पर्व मनाउने चलन छ। नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर कादो सिरुवा मनाउने गरिन्छ। तेस्रो दिनआपसमा रंग दलेर रंग सिरुवा मनाउने गरिन्छ।

तीन दिनमध्ये दोस्रो अर्थात कादो सिरुवा लोकप्रिय मानिन्छ। सरकारले आज झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा पनि सार्वजनिक विदा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुडशितल र सिरुवा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्नु भएको छ ।

Avatar

Next Story