प्रधानमन्त्री भन्छन् सरकारलाई प्रश्न सोध्ने तरिका बदलौँ, देउवा आक्रोशित

  • १ बैशाख २०७६, आईतवार २०:३३
  • 637 Views
Radin NRN

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई परम्परागत शैलीमा प्रश्न नगर्न आग्रह गर्नुभएको छ । नयाँ वर्षमा देशबासीलाई सम्बोधन गर्दै उहाँले सम्वृद्धिको यात्रामा लम्केको सरकारलाई निराशावादी प्रश्न गर्न नसुहाउने उल्लेख गर्नुभयो । विपक्षीलाई कटाक्ष गर्दै उहाँले ‘एक वर्षमा सरकारले के नै गर्न सक्यो र ?’ भन्ने ढंगले आफू नेतृत्वको सरकारलाई प्रश्न गर्न नमिल्ने बताउदै सरकारले गरेका उपलब्धीको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रश्नहरुको तथ्यपरक जवाफ दिन भने सरकार तत्पर रहेको बताउनुभयो ।

उहाँले विद्यार्थी भर्ना दर बढेको, ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको, लगानी सम्मेलन सम्पन्न गरेको, सामाजिक सुरक्षा कार्यक्रम लागु गरिएको विषयलाई सरकारका उपलब्धीका रुपमा व्याख्या गर्नुभयो । ओलीले जालझेल गरेर कब्जा गरिएका सबै सरकारी जग्गाहरु फिर्ता गरिने बताउनुभयो । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएका बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनाधिकृत दोहनलाई छुट नदिइने बताउनभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्छौ भन्नेहरुलाई नन्दी भृंगीको संज्ञा दिनुभएको छ । विपक्षीहरुले असहिसुष्ण भएको आरोप लगाइरहेका बेला नयाँ वर्षको पहिलो दिन नै प्रधानमन्त्री ओली विपक्षीहरुमाथि खनिनुभएको हो । आज आयोजित एक कार्यक्रममा उहाँले विभिन्न आकार प्रकारका नन्दी भृंगी भेला भएर सरकार विरुद्ध आन्दोलन गर्छौं भन्न थालेको बताउनुभयो । उहाँले जनताको मन जितेर बनेको सरकार विरुद्ध आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभयो ।

शुक्रबार ११ विद्यार्थी संगठनले गरेको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आन्दोलन गर्न आह्वान गर्नुभएको थियो ।े प्रधानमन्त्री निरंकुश बन्दै गएको आरोप लगाउदै देउवाले सरकारविरुद्ध आन्दोलनका लागि तयारी हालतमा रहन निर्देशन पनि दिनुभएको थियो ।

देउवाको यो अभिव्यक्तितर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध बोल्नहरुलाई बृद्धबृद्धा र केटाकेटीबाटै टाढा रहन चेतावनी दिनुभयो ।
तर यता कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ । विपक्षी पार्टीहरुले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी गरिरहेका बेला देउवाले सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको हो । उहाँले सरकारले अहिलेसम्म कुनै पनि क्षेत्रमा राम्रो काम नगरेको भन्दै आलोचना गर्नुभयो ।

अहिले महंगी बढ्नुका साथै जताततै कर तिर्नुपर्ने बाध्यताले नागरिक आक्रान्त भएको पनि सभापति देउवाले बताउनुभयो । सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै देउवाले गफ मात्रै गर्ने तर कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखिएको बताउनुभयो । सरकारले जथाभावी थोपरेको ट्याक्सले जनताको हालत खराब भइसकेको देउवाको भनाई छ ।

Avatar

Next Story