निगमकाे उडान रद्द गर्ने ६ कर्मचारीलाई कारबाही सिफारिस

  • ३० चैत्र २०७५, शनिबार ०७:५७
  • 1781 Views
Radin NRN

काठमाडाैं । गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ । त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । तर, नाम किटान गरेरै कारबाही सिफारिस गरिए पनि दोषीको नाम भने सार्वजनिक नगर्ने सहमति भएको छानबिन समितिका एक सदस्यले बताए ।

व्यक्तिविशेषको आदेशका भरमा काम हुने गरेको पाइएको भन्दै प्रतिवेदनमा लिखित रूपमा समस्या समाधान गर्ने विधि विकास गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाब दिइएको छ । समितिले धावनमार्ग बन्द गर्नेबारे हवाई सेवा प्रदायक कम्पनीलाई दिइएको सूचना ‘नोटम’ कार्यान्वयन सबै कर्मचारीबाट समान रूपमा हुनुपर्ने सुझाब पनि दिएको छ । प्रतिवेदनमा यात्रु भरेर उडानका लागि ठिक्क परेको अन्तर्रा्ष्ट्रिय विमानलाई काममा बाधा नपर्ने गरी समन्वय गरेर सकेसम्म उडाउनेतर्फ ध्यान दिन पनि सुझाब दिइएको छ । याे समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेखेका छन् ।

 

Avatar

Next Story