तेस्रो लगानी सम्मेलन भोली देखि, आवश्यक तयारी पुरा, ‘७७ परियोजना शो केशमा राखिने’

  • १४ चैत्र २०७५, बिहीबार २०:१९
  • 2639 Views
Radin NRN

काठमाडौं । भोली देखि सुरु हुन लागेको तेस्रो लगानी सम्मेलन २०७५ को तयारी पुरा भएको छ ।  मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न भोली देखि काठमाडौमा लगानी सम्मेलन हुदैछ ।

सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिइने छ ।

सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधि मण्डल लगायत ६०० बढी लगानी कर्ताको सहभागीता हुनेछ । कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनबाट सरकारले जलविद्युत् क्षेत्रमा मात्र साढे १२ खर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरेको छ ।

लगानी बोर्डले सरकारी ठूला ८ आयोजना र निजी क्षेत्रबाट प्रस्तावित ११ वटा विद्युत् आयोजना वैदेशिक लगानीकर्ता समक्ष प्रस्तुत गरेर लगानी जुटाउने लक्ष्य राखेको हो ।

 

सम्मेलनका लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तीनवटै सुरक्षा निकायको समन्वयमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिनुभयो ।

सुरक्षाका तीनै निकाय र ट्राफिक प्रहरीसहित झण्डै सात हजार सुरक्षाकर्मी खटाइने सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले विभिन्न ६ अस्पताललाई तयारी अवस्थामा राखेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, भक्तपुर तथा त्रिविवि शिक्षण अस्पताललाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रका अस्पताललाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयलको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैर आवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ ।

सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपालमा लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने सरकारको दाबी छ ।
विकासका सम्भावना र आवश्यकता ख्याल गर्दै सरकार, स्वदेशी तथा विदेशी लगानीकर्ताका बीचमा सुमधुर सम्बन्ध विकास गरी राष्ट्रिय आवश्यकतालाई पूरा गर्न तर्फ सम्मेलन केन्द्रित हुन जरुरि छ ।

Avatar

Next Story