पहिलो पटक उपाध्यक्षले शुरू गरिन् राष्ट्रिय सभाको बैठक, दुर्लभ संसदीय अभ्यास

  • ५ चैत्र २०७५, मंगलवार १७:०३
  • 923 Views
radionrn

राष्ट्रिय सभाको बैठक पहिलो पटक उपाध्यक्ष शशीकला दाहालले शुरू गरेर सञ्चालन गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना राजधानीबाहिर रहेका कारण उपाध्यक्षले मंगलवार पहिलोपटक बैठक शुरू गरेकी संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए ।

यसअघि अध्यक्षले बैठक शुरू गर्ने र केही समयपछि मात्र उपाध्यक्षले सञ्चालन गर्ने गरेकी थिइन् । २०७४ साल फागुन २१ गते राष्ट्रिय सभाको बैठक शुरू भएयता सबै बैठकको अध्यक्षता तिमिल्सिनाले नै गर्दै आएका थिए ।

मंगलवार उपाध्यक्ष दाहालले दुईवटा बैठकको शुरू र अन्त्यको घोषणा गरिन् । पहिलो बैठकमा सांसदहरूले शून्य समय र विशेष समयमा समसामयिक विषयमा धारणा राखेका थिए ।

गएको असोज ३० गते राष्ट्रिय सभा नियमावलीको पहिलो संशोधन भएपछि उपाध्यक्षले बैठक सञ्चालन गर्ने व्यवस्था भएको थियो । नियमावलीको नियम ६ को दफा ४ मा अध्यक्षले बैठक प्रारम्भ र स्थगनबारे व्यवस्था गरिएको छ ।

संशोधनमार्फत् ‘तर अध्यक्षले उपाध्यक्षलाई लिखित निर्देशन दिएमा वा अध्यक्ष काबु बाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भको या स्थगन गर्नसक्ने’ भन्ने व्यस्था थपिएको छ । संघीय संसद् सचिवालयका अधिकारीका अनुसार अध्यक्ष तिमिल्सिनाले लिखित जानकारी गराएका कारण उपाध्यक्षले बैठक सञ्चालन गरेकी हुन् ।

बैठकले राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाउने प्रस्ताव पारित गरेको छ ।

Avatar

Next Story