मन्त्रिपरिषद पुनर्गठनबारे ओली र दाहालको भनाई बाँझियो, प्रचण्डले फेरबदल भनिरहँदा ओलीले भने, ‘सम्भावना छैन’

  • ३ चैत्र २०७५, आईतवार २०:२७
  • 1300 Views
Radin NRN

काठमाडौँ । केही दिन अघि पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि प्रधानमन्त्री ओलीसँग बालुवाटारमा कुरा भएको बताएपछि नेपालको राजनीतिमा तरंग आयो ।

प्रचण्डको यो अभिव्यक्ति आम चासोको विषय त छदै थियो तर यसले सबैभन्दा बढी चिन्ता केही मन्त्रीहरुलाई प¥यो, जसको कामबाट सरकार र सत्तारुढ पार्टी सन्तुष्ट थिएन । अथवा भनौँ आउट हुनेहरुको लिष्टमा शायद उनीहरुको पनि नाम थियो ।

प्रचण्डले ६ दिन अघि विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मन्त्रिपरिषद् हेरफेरका लागि कुरा भएको र मन्त्रीहरुको मुल्याङकनका आधारमा त्यो काम तपाईँ आफै गर्नुहोस् भनेर प्रधानमन्त्रीलाई जिम्मा दिएको बताउनुभएको थियो ।

मन्त्रिपरिषद् फेरबदल हुने कुराले जनचासो बढेका बेला बहालवाला मन्त्रीहरुमा भने प्रचण्डको अभिव्यक्तिले त्रास फैलायो । उनीहरु आफू मन्त्रिपरिषदबाट बाहिरिने हो कि भन्ने चिन्ताले पिरोलिन थाले ।

एक मन्त्रीले त आफूलाई सचिवले समेत नटेरेका कारण काम गर्न नसकेको सार्वजनिक अभिव्यक्ति दिएर आफू मन्त्रिमण्डलबाट आउट हुने अग्रिम जनाउ दिए । केहीले आफूले एक वर्षमा गरेका कामहरुको लिष्ट सञ्चार माध्यमहरुमा पठाउन भ्याए । तर, आज प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ अभिव्यक्तिले भने मन्त्रीपरिषद फेरबदल हुने सम्भावनाबारे नयाँ मोड लिएको छ ।

प्रचण्डले अभिव्यक्ति दिएको विराटनगर विमानस्थलमै ६ दिन पछि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीहरु परिवर्तन गर्ने कुनै योजना नभएको स्पष्ट पार्नुभयो । एउटा मन्त्रालय खाली रहेको बताउँदै उहाँले त्यसलाई पूर्णता दिने एउटा कुरा भए पनि हाललाई मन्त्रिपरिषद् हेरफेरको कुनै योजना नभएको बताउनुभयो ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका उडेकै दिन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने अभिव्यक्ति दिनुभएको हो । आज साँझ अमेरिका उड्नु अघि विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा पनि प्रचण्डले मन्त्रिमण्डल पुनगर्ठनको विषयबारे मुख खोल्नु भएन । बरु उहाँले देशमा अन्यौलता र अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्ने बताउनुभयो ।

प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको विषय प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको र प्रधानमन्त्री ओलीले तत्काल हेरफेरको सम्भावना नरहेको बताएपछि तत्कालका लागि मन्त्रीमण्डल पुनर्गठनको विषय पाखा लागेको छ । तर खाली रहेको पर्यटन मन्त्रालयमा कसलाई ल्याइएला भनेर अनेक अड्कलबाजी भइरहेका छन् । धेरैले पर्यटन मन्त्रालयमा ओलीले नेता योगेश भट्टराईलाई अगाडि सार्ने अनुमान गरेका छन् ।

Avatar

Next Story