विप्लवको गतिविधिमाथि सरकारद्धारा उच्च निगरानी ,अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी

  • ३ चैत्र २०७५, आईतवार १७:५२
  • 962 Views
Radin NRN

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो ।

सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ । नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकोसमेत उहाँले बताउनुभयो ।
सरकारले त्यस्ता समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ ।
विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ ।

यसैबिच, अवैध हतियार बुझाउन दुई दिन अघि ३५ दिने सूचना जारी गरेको सरकारले निर्धा्रित समयमा ती हतियार नबुझाएमा आफै हस्तक्षप गर्ने चेतावनी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ पुगेर आज सरकारद्वारा पाँच दिन अघि प्रतिबन्धित ‘विप्लप’ समूहलाई लक्षित गर्दै तोकिएको समयमा हतियार नबुझाए सरकारले त्यसमा कडा कदम समेत चाल्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले देशको शान्ति र सुरक्षा व्यवस्थालाई चुनौती दिने जोकसैलाई पनि सरकारले नियन्त्रण गर्ने बताउनुभएको छ ।

Avatar

Next Story