राउत र सरकारबीच भएको सहमतिबारे कांग्रेसमा किचलो, सभापतिले अपरिपक्व प्रतिक्रिया दिएको पौडेलको आरोप

  • २८ फाल्गुन २०७५, मंगलवार २०:०४
  • 1040 Views
Radin NRN

काठमाडौँ ।  सीके राउतसँग सरकारले गरेको राजनीतिक सहमतिबारे विभिन्न खालका टिकाटिप्पणी भइहरेका बेला प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले भने यस विषयप्रति आफ्नो आधिकारिक धारणा बनाउन सकेको छैन ।

गत शुक्रबार सरकार र सीके राउतबीच सहमति पत्रमा हस्ताक्षर भएलगत्तै यसको स्वागत गरेका कांग्रेस नेताहरुले पछिल्लो घटनाक्रमपछि भने विरोध जनाएका छन् । सीके राउतसँगको सहमतिबारे कांग्रेसका नेतापिच्छे फरक धारणा बाहिर आएपछि पार्टीभित्र यो विषयको नयाँ विवाद सृजना भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीके राउत समूहसँग सरकारले गरेको सहमतिको विषयमा पार्टीका नेताहरुले अपरिपक्क प्रतिक्रिया दिएको भन्दै आपत्ति जनाउनुभएको छ । सभापति शेरवहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले अध्ययन नै नगरी फुत्त बोलिहाल्नु गलत भएको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकार र सीके राउतसँग भएको सहमतिका विषयहरु गम्भीर रहेको भन्दै पौडेलले त्यसमा सहमत हुनै नसकिने बताउनुभयो । उहाँले यस विषयमा सरकारले चाडो चन्दा चाडो सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

यता सुरुवाती प्रतिक्रियामा सरकार र राउतबीच भएको सहमतिको स्वागत गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले बोलि फेर्दै उक्त सहमति राष्ट्रको हित विपरित रहको बताउनुभएको छ ।  देउवाले सुरुवाती प्रतिक्रियामा बिखण्डनकारी गतिविधिमा संलग्न व्यक्तिलाई मुलधारको राजनीतिमा ल्याउनु सुःखद पक्ष रहेको बताउनुभएको थियो । तर सहमतिपछि सीके राउतले देखाएको व्यवहार शंकास्पद रहेकोले यो सहमतिको प्रधानमन्त्री ओलीले खण्डन गर्नुपर्ने देउवाको भनाई छ ।

अहिले स्वतन्त्र मधेस संगठनका संयोजक सीके राउत मौन रहेपनि उनका कार्यकर्ताहरुले स्वतन्त्र मधेसको बिखण्डनकारी अभियान छोडेका छैनन् । देशका विभिन्न स्थानमा सरकार र राउतबीच भएको सहमति देश टुक्राउने खेल भएको भन्दै विरोध प्रदर्शन हुन थालेका छन् । तर पनि राउतले पत्रकार सम्मेलन गरेर आफ्नो मौनता तोड्न उचित ठानेका छैनन् । बरु उनले लामो समय जेल बसेकाले अहिले आराम गरिरहेको वक्तव्य फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

राउतले वक्तव्य मार्फत आफ्नो फेसबुक पेजमा यसअघि सार्वजनिजक गरिएका धारणा आधिकारिक नभएको उल्लेख गरेका छन् । तर उनको समूहको रुपन्देही जिल्ला समितिले पत्रकार सम्मेलन गरेर स्वतन्त्र मधेसको मुद्दा त्याग्ने बारे सरकारसँग कुनै सम्झौता नभएको दाबी गरेको छ । यसबाट पनि सीके राउतले सरकारसँग जालझेलपूर्ण सहमति गरेको प्रष्ट हुने कतिपयको बुझाई छ ।

Avatar

Next Story