दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहितको शब जलेको अवस्थामा फेला, खराब मौसमले शव काठमाडौँ ल्याउन कठिन

  • १५ फाल्गुन २०७५, बुधबार १८:०६
  • 1092 Views


Radin NRN

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव फेला परेको छ । गृहप्रवक्ता रामकृष्ण सुवेदीले मृत्यु भएका ७ जनाको शव जलेको अवस्थामा भेटिएको जानकारी दिनुभयो । प्रवक्ता सुवेदीले मौसमको प्रतिकूलताका कारण ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताउनुभयो ।

घटनास्थलमा मन्त्री र मन्त्रीका पिएसओको शव चिन्न सक्ने अवस्थामा रहेको र अन्यको शव पूर्ण रुपमा जलिसकेकोले चिन्न नसकिने अवस्थामा नरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । निधन भएकाहरुको शव संकलनका लागि अहिले घटनास्थलमा सेनाको एमआई १७, सिम्रिक र डाइनेष्टीका एक–एकवटा हेलिकोप्टर गएको छ । घटनास्थल निकै भिरालो र अप्ठ्यारो ठाउँमा भएकोले उद्धारका लागि करिब दुई घण्टा लाग्ने समेत प्रवक्ता सुवेदीले बताउनुभयो ।

दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसहित सात जनाको शव काठमाडौँ ल्याउन कठिन भएको छ ।

दुर्घटनास्थलमा हिमपात भइरहेको र भीरमा हेलिकप्टर बस्न नसक्ने भएकाले शव ल्याउन कठिन भएको नेपाली सेनाका प्रवक्ता यम ढकालले जानकारी दिनुभयो । प्रवक्ता ढकालले शवहरूलाई हेलिकप्टरमा लिफ्ट गर्ने प्रयास जारी रहेको बताउनुभएको छ ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका मन्त्री अधिकारीसहितको शब जलेको अवस्थामा फेला, खराब मौसमका कारण शवहरु काठमाडौँ ल्याउन कठिन । अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा ज्यान गएपछि अहिले मन्त्रीपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।  मन्त्रीसहित भिआइपीको निधन भएपछि सामाजिक सञ्जालमा शोक र समवेदनाका सन्देशहरु भरिएका छन् ।

यस्तै मन्त्री अधिकारीका बुवाआमा काठमाडौं आईपुग्नुभएको छ । उहाँहरुलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।
दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरपालिका मालेपाटनस्थित घरमा पुगेका थिए ।
मन्त्री अधिकारीका पत्नी र २ जना छोराहरू छन् । यता, हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाउन पनि आग्रह गर्नुभएको छ ।

Avatar

Next Story