कार्यकर्तालाई तोडफोड पनि छुट, पशुपतिलाई गीत गाउनै प्रतिबन्ध ?

  • ५ फाल्गुन २०७५, आईतवार २०:२४
  • 3094 Views


Radin NRN

दिनेश न्यौपाने, काठमाडौं । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’बोलको गीतमाथी प्रतिबन्ध लगाइएपछि लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी भएका छन् । सत्तापक्षको दवावले शर्माले युटुवबाट गीत हटाएका समाचारहरु सार्वजनिक भएपछि कानुनबिद्, प्राज्ञिक व्यक्ति र कलाकारहरुले सरकारप्रति कडा आपत्ति समेत जनाएका छन् ।

सृर्जनामा सत्तालाई आत्थु–आत्थु पार्ने शक्ति हुन्छ भन्ने कुराको पछिल्लो दरिलो उदाहरण बन्यो पशुपति शर्माको लोक गीत ‘लुट्न सके लुट कान्छा’ । यो गीतका केहि शब्दहरु असुहाउदो रहेको भन्दै सत्तापक्षको दवावले युटुवमा अप्लोड भएको २ दिनमै हटाइयो । गीत हटाइएपछि यसको पक्ष र बिपक्षमा विचारहरु विभाजित छन् ।
दिपकराज गिरी, हास्य कलाकार
ब्यङ्ग्य भनेको सत्यता भन्दा अलि बढी नै हुन्छ । यस्ता ब्यङ्ग्यहरु सरकार विरुद्ध वा सरकारलाई गिराउने खेल भन्दा पनि जे हो त्यहि कुरालाई प्रस्तुत गर्ने खालका हुन्छन् । कलाकारले ब्यङ्ग्य गर्दा अलि बढी गछर्न । तर ब्यङ्ग्य गर्दा उक्त सामाग्रीलाई नै प्रतिबन्ध लगाउनु राम्रो होइन । केही शब्दहरुमा आपत्ति भए काटछाटका लागि आग्रह गर्न सकिने कुरालाई ठूलो विवादका रुपमा उचाल्नु हुँदैन ।

दलका कार्यकर्ताबाट कलाकारलाई धम्की आउनु हुँदैन । म पनि यो कुरामा धेरै पटक परिसकेको छु । एउटा गीत गाउँदा मेरो पनि जागिर गुमेको थियो । कलाकारले कसको सरकार छ भनेर ब्यङ्ग्य गर्दैन । कलाकारले त समाजमा जे भइरहेको छ त्यहि कुरालाई नै आफ्नो श्रृजनामा प्रस्तुत गर्ने हो ।

सत्तामा कोही हुनु त्यो संजोग मात्रै हुन जान्छ । कलाकारहरुको ब्यङ्ग्यात्मक श्रृजनालाई प्रतिबन्ध लगाए यसले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्छ । कलाकारले सामान्य गल्ती गरे श्रृजना प्रतिबन्धीत हुने भए नेताहरुले हजारौँ गल्ती गर्दा उनीहरुलाई कारबाही भएको खोई? गणतन्त्र सबैका लागी होइन र ?
बरिष्ठ लोक गायक दुर्गा रायमाझी
शर्माले समाज, परिवेश र देशमा दिनानुदिन बढिरहेको भ्रष्टाचार, बलात्कार र बेथितिविरुद्ध नेपालीको जनजिब्रोमा झुण्डिएको लोकलयमा गीत बनाएका थिए । तर सत्तापक्षिय दबाबमा उनले गीत हटाउन बाध्य हुनुपरेको बताइएको छ । गणतान्त्रिक मुलुकमा श्रष्टाको गीतमाथि नै प्रतिबन्ध लगाइएपछि प्राज्ञिक व्यक्तित्वहरुले पनि निन्दा गरेका छन् ।
संबिधानबिद् भिमार्जुन आचार्य
पशुपति शर्माको लुट्न सके लुट कान्छा बोलको गीतका शब्दहरु प्रतिबन्ध गर्ने खालका छैनन । कलाकारले ठेट भाषा प्रयोग गरेर श्रृजना गरेका छन् । गीतमा भएका कुराहरु तथ्यसंगत र सत्य छन् । बेथीतीहरुबारे एउटा श्रष्टाले जे देख्यो त्यहि गीतले बोलेको छ ।

सरकारका हरेक कृयाकलापको सराहना र आलोचना हुन्छ । गलत प्रबृतीको पनि जयजयकार गर्नुपर्छ भन्ने कुरा लोकतन्त्रमा हुँदैन । गीत हटाउन दबाब दिनु निन्दनीय विषय हो । दबाबले गीत हटाउनुपरेको हो भने गायकलाई अदालत जाने छुट छ । न्यायालयमार्फत उहाँले क्षतिपुर्तिसहितको न्याय पाउन सक्नुहुन्छ ।

संविधानले प्रत्याभुत गरेको मौलिक हकमाथि राज्यले अनुचित बन्देज लगाउँछ भने त्यसको विरुद्धमा प्रत्येक नागरिकलाई चुनौति दिने अधिकार हुन्छ । त्यो उहासँग पनि छ । उहाँले के गर्नु हुन्छ त्यो त समयले बताउला । तर जे सुकै भए पनि यो बन्देज अनुचित छ । नाजयाज छ ।,यसले लोकतन्त्रको खिल्ली उडाएको छ ।

शर्माले सरकारको विरोधमा गीत तयार पारेको भन्दै सत्तारुढ नेकपाको भातृ संगठन युवा संघ नेपाललले त शर्मालाई वहिस्कार गर्न कार्यकर्तालाई निर्देशन दिएको सन्देश सामाजिक सञ्जालमा छाएको छ । यस घटनाले पनि सत्तापक्षिय नेताहरुकै दबाब र धम्कीमा पशुपति शर्माले युट्युबबाट गीत हटाउन बाध्य हुनुपरेको दाबी गर्नेहरु धेरै छन् ।

संविधानले दिएको अभिव्यक्तिको स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने गरी राज्यशक्ति नै एउटा सामान्य कलाकारविरुद्ध जाइलाग्नु लाजमर्दो घट्ना हो । यद्यपी सरकारले भने यसमा अनबिज्ञता प्रकट गरेको छ । तर सत्तारुढदलका भातृसंगठनको दवावमा गीत हटाएको चर्चा भैरहदा यसले खुला समाज र लोकतन्त्रको पनि उपहास गरेको भान भएको छ ।

सुनौ अडियो रिर्पोट !

पशुपति शर्मासंग गरिएको कुराकानी पनि सुनौ !

 

Avatar

Next Story