जनयुद्धको विरोध गर्ने तत्कालिन एमालेका कार्यकर्ता पनि भोली जनयुद्ध दिवस मनाउन बाध्य

  • २९ माघ २०७५, मंगलवार २०:३९
  • 3133 Views
Radin NRN

काठमाडौं । तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको सम्झनामा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले भोली जनयुद्ध दिवस मनाउन लागेको छ । तत्कालिन नेकपा एमाले जनयुद्धको विपक्षमा खरोरुपमा उत्रिएको भएपनि अहिले संयुक्त पार्टी बनेपछि एमालेका नेता कार्यकर्ताहरु समेत जनयुद्ध दिवस मनाउन बाध्य भएका हुन्।

२०५२ साल फागुन एक गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा अघिल्ला बर्षहरुमा माओवादीले मात्रै जनयुद्ध दिवस मनाउने गरेकोमा अहिले नेकपाका कार्यकर्ताहरुले पनि मनाउने भएका छन् । बीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ गते भोली जनयुद्ध दिवस मनाउँदै छ । यद्यपि नेकपाले नाममा केहि परिवर्तन गरी जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृति दिवसको रुपमा मनाउन लागेको हो ।

महासचिव विष्णु पौडेलले एक सर्कुलर जारी गर्दै देशभर कार्यक्रम गर्न निर्देशन पनि दिनुभएको छ । नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका केही शीर्ष नेताको भने उपस्थिति रहने जनाइएको छ ।

केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अनुपस्थिीतिले पनि तत्कालिन एमालेका नेता तथा कार्यकर्ताहरु यो दिवस मनाउन चाहेका छैनन् भन्ने प्रष्ट हुन्छ । उहाँसहित तत्कालिन एमालेका कतिपय नेता तथा कार्यकर्ताहरुले पनि यो नेकपाको दिवस नभइ माओवादीको मात्रै दिवस भएकाले यसलाई पार्टीले दिवसका रुपमा मनाउन नहुने पक्षमा मत जाहेर गरेका छन् । तर उनीहरुलाई सान्वना दिनका लागि जनआन्दोलन तथा जनयुद्ध दिवस नाम दिइएको छ । जवकी जनआन्दोलन चैत्र २४ गते मनाउने गरिन्छ ।

तत्कालिन एमालेका नेताहरुले यो दिवस भविश्यमा मनाउने की नमनाउने भन्ने बारेमा पुर्नविचार गर्न सकिने र अहिले भने परिस्थीतिजन्य रुपमा ग्रहण गरिएको बताएका छन् । तत्कालीन एमालेका नेता पशुपति चौलागाइले अहिले पार्टी तदर्थ अवस्थामा रहेकाले दुवै पक्षका विषयलाई समेट्दै लैजाने क्रममा यो दिवस मनाउन लागिएको बताउनु भयो ।

तत्कालिन नेकपा (माओवादी) ले सोही दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको सुरुवात गरेको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए । त्यसको तत्कालिन एमालेले विरोध गर्दै आएको थियो । आफैले विरोध गरेको विषयलाई स्विकार्नु एमालेका कार्यकर्ताहरुको बाध्यता र एकतापछिको स्वभाविकता भएको बताउनुहुन्छ बाम बुद्धिजिवी श्याम श्रेष्ठ ।

एक दशक सशस्त्र युद्धमा बिताएको माओवादीले १२ वर्ष शान्ति प्रक्रियामा पनि बिताइसकेको छ । विगतमा मुलधारको माओवादी र त्यसबाट फुटेका माओवादीहरुले मात्रै जनयुद्ध दिवस मनाउने गर्थे ।

अहिले भने जनयुद्धलाई हेर्ने दृष्टिकोण फरक भएको तत्कालिन एमाले पनि यो पटक दिवस मनाउँदै छ । पछिल्लो समय सल्टाउन बाँकी रहेका द्वन्द्वकालिन मुद्दाहरुमाथि प्रश्न उठिरहेको बेला एकिकृत पार्टी नेकपाले दिवस मनाउँदै छ । २०६३ मंसिर ५ मा तत्कालिन माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता गरी औपचारिक रुपमा सशस्त्र युद्धको अन्त्य भएको घोषणा गरेसँगै माओवादी शान्ति प्रक्रियामा आएर एमालेसँग एकता गर्दै अहिले नेकपा बनेको हो ।

Avatar

Next Story