पहिलो प्रधानमन्त्रीत्वकालमा केही गर्न सकिएन : प्रचण्ड

  • २९ माघ २०७५, मंगलवार १८:०४
  • 546 Views
radionrn

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा केही गर्न नसकेको स्वीकार गरेका छन्। सरल सहयात्रीद्वारा लिखित ‘शिखरको ढुंगा’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

पहिलो पटक सरकारमा जाँदा आफू र आफ्नो तत्कालीन पार्टीसँग धेरैका ठुला अपेक्षा रहेपनि सोचे अनुरुप काम गर्न नसकेको उनले स्वीकार गरेका हुन्। ‘खुला राजनीतिको भेउ नपाउँदै राजीनामा दिने अवस्था आयो,’ प्रचण्डले भने, ‘राजनीतिक चमत्कार गर्ने ठाउँ होइन रहेनछ, प्रधानमन्त्रीको पद।’

प्रचण्डले राजनीति चमत्कार गर्ने ठाउँ नरहेको बताए पनि तत्कालीन माओवादी मूलधारको राजनीतिमा नआउँदासम्म नेपाललाई १० वर्षमा सिंगापुर बनाउने र विकासमा चमत्कार गर्ने सार्वजनिक रूपमा नै बताउने गरेका थिए।

दोस्रो प्रधानमन्त्रीत्वकाल भने आफूले सचेततापूर्वक सञ्चालन गरेको प्रचण्डले जिकिर गरे। ‘दोस्रो प्रधानमन्त्रीत्वकाल परिर्वतन संस्थागत गर्नमा नै केन्द्रित भयो,’ प्रचण्डले उल्लेख गरे। आफूले तनावग्रस्त राजनीति गरेको भन्दै आफ्नो सम्पूर्ण राजनीतिककाल चटारोमा बितेको प्रचण्डले बताएका छन्।

प्राप्त परिवर्तन संस्थागत गर्नु वर्तमान सरकारको मुख्य काम रहेको प्रचण्डले बताए। संविधान घोषणा र गतवर्षको निर्वाचनपछि नेपालले निरन्तरताको क्रमभङ्गता भएको र अबको पालो आर्थिक क्रान्तिको भएको प्रचण्डले उल्लेख गरे। ‘अबको हाम्रो यात्रा समाजवादी क्रान्तिको हो। प्रचण्डले आर्थिक उन्नति बिना समाजवाद सम्भव छैन।’

प्रचण्डका स्वर्गीय छोरा प्रकाश दाहाल, उपन्यास लेखक सरल सहयात्रीलगायत १० युवाले सगरमाथा आरोहण गरेको विषयलाई उपन्यासको विषयवस्तु बनाइएको छ।

Avatar

Next Story