ओली र दाहाल सम्बन्ध सुमधुर बनाउने प्रयासमा, दुवैजनाद्वारा एकसाथ सरकारको बचाउ

  • २८ माघ २०७५, सोमबार २०:०४
  • 2288 Views
Radin NRN

काठमाडौं । भेनेजुएला प्रकरणलाई लिएर एक अर्काका विरद्ध आक्रामक अभिव्यक्ति दिएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आज एकैदिन सरकारका कामकारबाहीको प्रसंसा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले काठमाडौँ र अध्यक्ष प्रचण्डले सिरहामा आयोजित कार्यक्रममा सरकारले गरिरहेका कामबारे आम रुपमा जानकारी गराउन खोज्नभएको थियो ।

यसअघि दाहालले संघीयता कार्यान्वयन गर्ने पाटोमा सरकार ठीक ढंगले अगाडि नबढेको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
तर आज भने उहाँले सिरहामा आयोजित कार्यक्रममा संघीयता कार्यान्नयन गर्न प्रधानमन्त्री ओली सहित आफू लागिपरेको बताउनुभयो ।
उहाँले मधेशको पक्षमा संविधान संसोधनका लागि पनि प्रयास भइरहेको दाबी गर्नुभयो ।

नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तर्गत राखिएको बताउँदै अब गरिबले उपचार नपाएर मर्नु नपर्ने पनि बताउनुभयो । उहाँले सरकारले गरिबको उपचार नगरे मुद्दा हाल्न सकिने बताउनुभयो ।

सिरहामा प्रचण्डले यस्तो बताइरहँदा काठमाडौँमा प्रधानमन्त्री ओलीले सरकारले गरेका कामकारबाही उपलब्धीमुलक भएको दाबी गर्नुभयो ।
उहाँले सरकारले राम्रो काम गर्न खोजेको तर स्वार्थले भरिएको गिरोहले अवरोध सृजना गरिरहेको भन्दै सबै मिलेर त्यसका विरुद्ध लड्नुपर्ने बताउनुभयो । नेकपाभित्रको आन्तरिक खटपटका कारण सरकारविरद्ध स्वार्थले भरिएको गिरोहले सुनियोजित आक्रमण गरिरहेको उहाँको संकेत थियो ।

केहिदिन अघि भेनेजुएलामा देखिएका राजनीतिक संकट र र त्यसमा अमेरिकी हस्तक्षेपका विरुद्ध प्रचण्डले जारी गरेको विज्ञप्तिपछि ओली र दाहालको सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्डको जिब्रो चिप्लेको टिप्पणी गरेपछि आक्रामक दाहालले सरकार विरुद्ध सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

दुवै अध्यक्षबीचको यो खटपटपछि विराधीहरु खुसी भएका थिए भने पार्टीका नेता तथा कार्यकर्ताहरु निराश भएका थिए ।
तर आज प्रचण्डले पनि सरकारको प्रसंसा गरेपछि चिसिएको सम्बन्मा न्यानोपना आएको आभास धेरैले गरेका छन् ।

Avatar

Next Story