जनयुद्ध दिवसमा नेकपाको विशेष कार्यक्रम, महासचिव पौडेलले जारी गरे सर्कुलर

  • २८ माघ २०७५, सोमबार १२:५१
  • 468 Views
radionrn

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर शहीदको सम्मानमा देशभर कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको छ ।

पार्टी महासचिव विष्णु पौडेलले सो सर्कुलर जारी गरेको नेकपा स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए । ‘जनयुद्ध दिवसको रूपमा भन्दा पनि शहीदको सम्मानमा कार्यक्रम राख्ने भनी सर्कुलर आएको छ,’ थापाले लोकान्तरसँग भने, ‘पार्टीभित्र सबै तहमा आन्तरिक रूपमा यो सर्कुलर पुगेको छ, हामी त्यसै अनुसार कार्यक्रमको तयारीमा लागेका छौं ।’

पछिल्लो समयमा पार्टीभित्र भेनेजुएला संकटलाई हेर्ने बारेमा आन्तरिक मतभेद देखिएको थियो । त्यससँगै संक्रमणकालीन न्यायका विषयमा पार्टीका अध्यक्ष प्रचण्ड संवेदनशील देखिएका छन् ।

शुक्रवार काठमाडौं जिल्ला समन्वय समितिको हलमा आयोजित एक कार्यक्रममा रुकुमेलीहरूको बीचमा प्रचण्डले संक्रमणकालीन न्यायका विषयलाई गम्भीर रूपमा लिनुपर्ने र यदि त्यसो नगरेको खण्डमा झन् ठूलो माओवादी जन्मिन सक्ने भन्दै कडा भाषण गरेका थिए ।

प्रचण्डको त्यो अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री केपी ओली विरुद्धमा लक्षित भन्दै विश्लेषण गरे । तर पार्टीभित्र कुनै समस्या नरहेको भन्दै महासचिव विष्णु पौडेलले चर्चामा आएको ओली-प्रचण्ड मतभेदलाई न्यूनीकरण गर्न प्रयास गरे । त्यही सन्दर्भमा फागुन १ गते पार्टीले नै कार्यक्रम गरी देशभर जनयुद्ध दिवस निर्देशन दिँदै पौडेलले गरेको आन्तरिक सर्कुलेसनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टीको घोषणा भएको थियो । १० वर्षे जनयुद्धको नेतृत्व गरेर आएको माओवादी र बहुदलदेखि नै संसदीय अभ्यास गरिरहेको एमालेबीच जनयुद्धलाई हेर्ने आधारभूत दृष्टिकोण पनि फरक छ ।

महासचिवको आन्तरिक सर्कुलरले पार्टीलाई भावनात्मक रूपमा एक बनाउन मद्दत गर्ने नेकपाका एक नेता बताउँछन् । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो ।

त्यही दिनको सम्झनामा माओवादी घटकहरूले प्रत्येक वर्ष आ-आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आइरहेका छन् ।

माघ २८, २०७५ मा प्रकाशित

Avatar

Next Story