वीरगञ्जस्थित वीपी उद्यानमा शहीद पार्क बनाउन लागेको भन्दै कांग्रेसको आपत्ति, मुख्यमन्त्री राउत सोध्छन् ‘१५ वर्षसम्म कांग्रेसले कति इटा थप्यो?’

  • २७ माघ २०७५, आईतवार २०:३८
  • 650 Views
Radin NRN

काठमाडौँ । केही दिन अघिसम्म नेताहरु गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाको नामलाई लिएर सदन र सडक अवरुद्ध पारेको नेपाली कांग्रेसले अब वीपी कोइरालाको नामलाई लिएर सरकारको विरोध गर्ने नयाँ श्रृङखला सुरु गरेको छ ।

नेपाली काग्रेसले वीरगन्जमा वीपी उद्यान निर्माण गर्ने भनि छुट्याइएको जग्गामा प्रदेश २ सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोप्रति आपत्ति जनाउँदै यो निर्णय सच्च्याउन माग गरेको छ ।

आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउँदै वीपी उद्यान नै निर्माण गर्न आग्रह गर्नुभयो ।

प्रवक्ता शर्माले २०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा.प्रकाशचन्द्र लोहनीबाट वीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले जीवनभर लोकतन्त्रका लागि लडेका दिवंगत नेताको नाममा रहेका संरचनामा एकपछि अर्को आक्रमण गरिरहेको भन्दै निर्णय तत्काल नसच्याए कडा रुपमा उत्रिने चेतावनी दिनुभयो ।

कांग्रेसले वीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रुपमा अगाडि नबढे संसद र सडकबाट पनि निर्णय उल्टाउन बाध्य हुने चेतावनी दिएपनि प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबावु राउतले भने वीरगञ्जमा शहीद पार्क निमार्ण गर्ने आफूहरुको निर्णय फेरबदल नहुने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कसँग कुरा गदै मुख्यमन्त्री राउतले आवश्यक सबै प्रक्रिया पूरा गरेर शहीद पार्क निमार्ण गर्ने निर्णय गरिएको दाबी गर्नुभयो । उहाँले वीपी कोइरालाका नाममा वीपी उद्यान बनाउने निर्णय भएको दाबी गर्ने कांग्रेसले १५ वर्षसम्म उक्त ठाउँमा कति इटा थप्न सक्यो भनेर उल्टै प्रश्न गर्नुभयो ।

गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्यानको जग्गामा शहीद पार्क बनाउने भन्दै शिलान्यास गर्नुभएको थियो । उहाँले उक्त १० बिगाह जग्गा वीपी उद्यान निर्माणका लागि २०४९ सालमा यातायात संस्थानबाट खरिद गरिएको बताउनुभएको थियो । हाल उक्त जग्गा वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको छ ।

Avatar

Next Story