डा. बनेका चन्द्र भण्डारीलाई बिरामी कांग्रेसको उपचार गर्न शुभकामना

  • २० कार्तिक २०७५, मंगलवार ०९:२३
  • 8775 Views


radionrn

मोति भण्डारी

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यका चन्द्र भण्डारी समकालिन राजनीतिका एक प्रखर बौद्धिक नेताका रुपमा चिनिनुहुन्छ । आफ्नो बैद्धिकतालाई उहाँले अहिले विद्यावारिधीको उपाधीसँगै पुष्टी गर्नु भएको छ । उहाँले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र संकायबाट विद्यावारिध उपाधी हासिल गरी थप चर्चा मात्र कमाउनु भएन नेपाली राजनीतिमा नयाँ आयाम थप्नु भएको छ ।

विकास निर्माणमा गहिरो चासो राख्ने भण्डारीले ‘विकास निर्माण प्रक्रियामा विश्वव्यापीकरणको प्रभाव’ शीर्षकमा विद्यावारिधी हासिल गरी नेपालको राजनैतिक नेतृत्वबाट जनताले भोग्नु परेको दुःख, पिडा, अन्याय, गरिबी र भ्रष्टाचारले देश विकास निर्माणमा भएका अनियमिता ढिलासुस्तिलाई चोटिलो प्रहार गर्नुभएको छ । समाजशास्त्रका असल विद्यार्थी भएपनि मावनतावादी चन्द्र भण्डारीले विभिन्न शास्त्रीय ज्ञान र आत्यात्मिक चिन्तनमा बढी रुची राखेको पाइन्छ । आफ्नो कर्मलाई धर्मसँग जोड्ने, विकास निर्माण र जनतासँगको सुख, दुःखको साथी बनी नेपाली राजनीतिको चरित्र बदल्ने एवं क्रान्तिकारी नेताको रुपमा उहाँलाई चिनिन्छ ।

नेपालका राजनैतिक पार्टी र नेताहरुले गरिबी, अन्याय र शोषणमाथि गरेको राजनीति उहाँलाई फिटिक्कै मन पर्दैन । नेता र नेतृत्वबाट भएको गल्तीबाट देश विकास हुन नसकेको उहाँको ठहर छ । शिक्षित नागरिकले मात्र समाजको वास्तविकता बुझ्ने हुनाले, सबै नागरिक शिक्षित बन्नु पर्छ भन्ने उहाँको धारणा छ । अझै पनि विद्यालय जान नसकेका सयौं बालबालिकाहरुलाई आफ्नै जोहोमा पढाइ दिएर तिनिहरुको जीवन फेरिदिएको लगायत थुप्रै नमुना कार्यहरु उहाँले गर्नु भएको छ ।

ग्रामीण भेगमा, बालबच्चादेखि दिदी, बहिनी, वृद्ध, आमा–बुबाहरुले भोग्नु परेको समस्याको बारेमा सरकारको चासो नहँुदा चिन्तित भईराख्ने भण्डारी आफूले सक्ने जति काम गरी सबैको नजरमा प्रिय बन्नु भएको छ । नेल्सन मन्डेला, सेक्सपियर, गान्धी, वि.पी., अब्दुल कलाम जस्ता महान् दर्शनशास्त्रीहरुबाट प्रेरित भई राजनैतिक सत्कर्मबाट मात्रै देश, समाज बदल्न सकिन्छ भन्ने उहाँको विचार छ । नेता अध्ययनशील, चरित्रवान, नैतिकवान हुनु पर्छ भन्ने उहाँको मान्यता रहेको छ ।

समाजवादी नेता चन्द्र भण्डारीमा नेपाली कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउने अठोट छ । वि.पि., गणेशमान, सुर्वण शमशेर, किसुनजीबाट प्रभावित भएर राजनीतिमा होमिएका भण्डारीले गिरीजा प्रसाद र सुशिल कोइरालाको राजनैतिक योगदानको बारेमा जहिले सरहाना गरी राख्नुहुन्छ । तर वर्तमान कांग्रेस नेतृत्वले राजनीतिको वास्तविकता बुझ्न नसकेर, सत्ता संचालनमा भएका दुरुपयोगले कांग्रेस पराजित हुनु परेको, पार्टी सुधारमा कुनै ध्यान नदिएको, पार्टीभित्र अराजक र खराब मानिसहरुको हालीमुहाली भएको लगायतका कारण कांग्रेस कमजोर भएको उहाँको ठहर छ । पार्टीभित्र नयाँ विचार सिर्जनशिलता भएका, असल, सदाचारी, अध्ययनशिल, लगनशील व्यक्तिले मात्र पार्टीलाई समय सापेक्ष डो¥याउन सक्छ भन्ने दृष्टिकोण राख्ने चन्द्र भण्डारी आगामी पार्टीको महाधिवेशनबाट कांग्रेस विचारले संचालन गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ । विद्यावारिधी अध्ययन पुरा गरी नामको अगाडी डाक्टर थप्नु भएका काँग्रेस प्रभावशाली नेता चन्द्र भण्डारीलाई विरामी काँग्रेसको उपचार गर्ने अवसर र सफलता मिलोस् भन्ने हार्दिक शुभकामना ।
जय नेपाल !

(लेखक भण्डारी काँग्रेस बिद्यार्थी नेता हुन्)

Avatar

Next Story