अग्रिम टिकट बुकिङ गर्न नपाएपछि रिसाउदै फर्किए यात्रु

  • ५ आश्विन २०७५, शुक्रबार ०९:१३
  • 1443 Views


radionrn

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ स्थगत गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि आजदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने बताएपनि अहिले भने मुल्य बृद्धिका कारण खोल्न नसकिएको जनाएको छ ।

सहमती विपरित सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने दुई दिनअघि नै जानकारी गराइसकेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो । सरकार र व्यवसायीबीच यसअघि बढेको डिजेलको मूल्यअनुसार दसैंपछि यातायात भाडा समायोजन गर्ने सहमति भएको थियो ।

व्यवसायीहरुको आन्दोलनका कारण यात्रुहरु मर्कामा परेका छन् । पाँच गते देखि अग्रिम टिकट बुकिङ सुरु हुने थाहा पाएका यात्रुहरु आज विहानै देखि विभिन्न बसपार्कहरुमा टिकटका लागि गएपनि नपाएपछि रिसाउदै फर्किएका छन् । त्यसैगरी देशभरका विभिन्न ठाउँमा सवारी चालकहरु आन्दोलित हुदा स्थानीय यात्रुहरुलाई समस्या भएको छ ।

गत भदौ एक गते देखि लागु भएको मुलुकी संहितामा रहेका कतिपय व्यवस्थाको विरोध गर्दै उनीहरु आन्दोलीत भएका हुन् । संहितामा सवारी दुर्घटना हुदा चालकको लापरबाही देखिए पाँचदेखि १२ वर्षसम्म कैदको व्यवस्था गरिएकोमा उनीहरुले विरोध जनाएका हुन् ।

संहिता संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बन्द गर्नुपरेको आन्दोलनरत चालकहरुको भनाई छ । संहिताले चालकलाई मात्रै दुर्घटनाको दोषी देखाउन खोजेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।

Avatar

Next Story