प्रदेश नम्बर ७ मा बुढी पोल्ने पर्व धुमधाम संग मनाइँदै ।।

  • १ आश्विन २०७५, सोमबार ०९:२५
  • 10140 Views


radionrn

हरिश चन्द्र बाग, कञ्चनपुर :- हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व प्रदेश नम्बर ७ (सुदूरपश्चिम) मा आज धुमधाम संग मनाईँदै छ । द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको स्तन चुसी मारेको खुशीयालीमा प्रदेश नम्बर ७ मा यो पर्व मनाउने गरिएको प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तले बताउनु भयो ।
यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।
जासुसी राक्षसनी पुतना दहनका लागि आज साँझ सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ ।
दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ ।
यो पर्व प्रदेश नम्बर ७ का पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको उत्तराञ्चलका कुमाउ, गढवालमा पनि मनाइने गरिन्छ । तर पछिल्लो समयमा बुढी पोल्ने पर्व लोप हुँदै गएको प्रति यसक्षेत्र कै चर्चित डेउडिया कृष्ण बहादुर चन्दले चिन्ता प्रकट गर्नुभएको छ ।

Avatar

Next Story