बिमान दुर्घटनामा मृत्यु भएकाको शवको पोस्टमार्टम गर्न कम्तिमा चार दिन लाग्ने

  • २९ फाल्गुन २०७४, मंगलवार १५:३९
  • 5226 Views


radionrn

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय वमानस्थलमिा हिजो भएको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउन शुरु गरिएको छ । त्रिवि शिक्षण अस्पतालले दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरेको छ ।  हिजो भएको युएस बङ्ला विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको छ । सबै शवको पोस्टमार्टम गर्न कम्तिमा चार दिन लाग्ने अस्पतालले जनाएको छ। अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागअगाडि मृतकका आफन्तको भिड लागेको छ । विमानमा आगो लाग्दा जलेका शवको पहिचानमा समस्या भएको छ ।

हिजो भएको विमान दुर्घटनामा परी चालकदलका सबै सदस्यको मृत्यु भएको छ । विमानचालक आबिद सुल्तानको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।  यूएस–बंगला एयरलाइन्सका मार्केटिङ सपोर्ट तथा पीआर जनरल म्यानेजर मोहम्मद कामरुल इस्लामले मृत्युको पुष्टि गर्नु भएको हो । अन्य दुई क्याबिन क्रू सदस्यहरू कोपाइलट पृथुला राशिद र ख्वाजा हुसेनको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।
यसैबीच, विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भएको छ । दुर्घटनामा मृत्यु भएका सबै ४९ जनाको शव अहिले महाराजगन्ज त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार विमानमा आगो लागेका कारण शव जलेकाले सनाखत गर्न मुस्किल हुने देखिएको छ । पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डिएनए परिक्षण गर्नु पर्ने अस्पतालले जनाएको छ ।  बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडान भरेको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना हुँदा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको काठमाडौंको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहिको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

Avatar

Next Story