वाम गठबन्धनको सरकारलाई मधेस केन्द्रित दलको समर्थन, राष्ट्रपतिमा भण्डारीलाई मतदान गर्ने

  • २६ फाल्गुन २०७४, शनिबार २०:०९
  • 4901 Views


radionrn

काठमाडौं । कुनै वेला पानी बाराबारको अवस्थामा रहेका नेकपा एमाले र मधेस केन्द्रित दलबीचको सम्बन्ध अहिले सुध्रीएको छ । मधेस केन्द्रित दलहरुले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा वाम गठबन्धन लचिलो भए सँगै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल नयाँ सरकारमा सहभागी हुने तयारीमा छन् । सरकारमा सहभागी हुने विषयमा फोरमसँग सहमति भैसकेको छ भने राजपासँग वार्ता जारी नै रहेको छ । दुई नम्बर प्रदेशमा वाम गठबन्धनले सहयोग गरेको र संविधान संशोधनमा सरकार सकारात्मक देखिएकाले राजपाले समर्थन गर्न लागेको हो । राजपा नेता केशव झाले संविधन संशोधन गर्ने सर्तमा आफूहरुले सहयोग गर्न लागेको जानकारी दिनु भयो ।

एमाले र माओवादी केन्द्रको वाम सरकारमा फोरम र राजपा सहभागी हुनेभएपछि संसदमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम र फागुन २९ मा हुने राष्ट्रिपतिको निर्वाचन औपचारीकतामा मात्र सीमित हुने भएको छ । दुई तिहाइको सरकार गठनको प्रयासमा रहेका प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलका नेताहरुसँग औपचारीक र अनौपचारिक रुपमा पटक पटक वार्ता गर्नु भएको छ । मन्त्रालय बाडँफाँटमा फोरमसँग कुरा मिले पनि राजपासँग भने सम्बाद जारी नै छ । सत्ता साझेदार माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार राष्ट्रपतिको निर्वाचन लगतै फोरमलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार हुने छ ।

प्रधानमन्त्रीले लिने विश्वासको मत र राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई सहयोग गरेपछि दलहरुबीच विश्वासको वातावरण बन्ने छ । यो सँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५ दल मध्ये ४ दल सरकारमा सहभागी हुने पक्का छ । चार दल सहभागी भएपछि दुई तिहाइको सरकार बन्ने छ । दुई तिहाइको सरकार निर्माण भएपछि नेपाली कांग्रेस मात्र प्रतिपक्षमा रहने छ । प्रतिपक्षमा रहेको कांग्रेसले स्थानीय तहदेखिनै शसक्त प्रतिपक्षको भूमिकामा रहने तयारी गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र नराम्रोलाई खबरदारी गर्ने बताउनु भयो ।

कुनै उथलपुथल नभए अब बन्ने सरकारले ५ वर्ष निरन्तरता पाउने छ । पाँच वर्षे सरकारले अब संविधान कार्यान्वयन सँगै आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नु पर्ने छ ।

Avatar

Next Story