‘ब्लडमनि’ जुटाउन नसकि अलपत्र परेका टोपबहादुरलाई सहयोग गर्न जुटे युएईका नेपाली

  • २६ फाल्गुन २०७४, शनिबार १४:१६
  • 3406 Views


radionrn

माधव न्यौपाने, युएई । ब्लडमनि जुटाउन नसकेर युएईमा अलपत्र परेका चितवन खैरेनीका टोपबहादुर विश्वकर्मा को उद्दारका लागी आर्थिक संकलन अभियान सुरू गरिएको छ । युएईमा रहेका नेपालीले अवुधाबी स्थित नेपाली दुतावासमा हिजो छलफल गरि आर्थिक संकलन अभियान सुरू गरेका हुन् ।

एनआरएन युएईको संयोजकत्वमा भएको छलफलले विश्वकर्माको उद्दारका लागी आर्थिक सहयोग संकलन अभियान चलाउने निर्णय गरेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । सहयोग संकलनका लागी एनआरएन युएई संयोजक रहने गरि गठन भएको समितीमा नेपाली समाज युएई, जनसम्पर्क समिती, प्रवासी मंच, जनप्रगतिशिल मंच, जनजाति महासंघ, चितवन समाज र विश्वकर्मा समाज उप(संयोजक तथा युएईमा रहेका सबै नेपाली संघसस्थालाई पदेन सदस्य तोकीएको छ। समितीले अर्को हप्ता नेपाली दुतावासमा सबै सस्थाका प्रमुखहरूसंग छलफल गरि समय सिमा तोकी आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।


चार बर्ष अघि कार्यस्थलमा भएको दुर्घटनामा दुई जना थाल्याण्डका नागरिकको मृत्यु भएपछि विश्वकर्मा सहित एक पाकिस्तानी नागरिकलाई दोषी ठहर गर्दै अदालतले ब्लडमनि भुक्तानको सजाय सुनाएको थियो। अदालतको फैसला अनुसार विश्वकर्माले एक लाख दिराम (करिब तिस लाख नेपाली रूपैया) तिर्नु पर्ने हुन्छ । दुर्घटना हुदा टोपबहादुर क्रेन अपरेटरको हेल्परको रूपमा काम गरेका थिए भने क्रेन पाकिस्तानी नागरिकले चलाएका थिए। क्रेनको बकेट खसेर थाईल्याण्डका दुई नागरिकको मृत्यु भएको थियो ।

सहयोगको अपिल गर्दै पटक(पटक दुतावास धाएका टोपबहादुरको उद्दारका लागी आवश्यक ब्लडमनि सहयोग गर्न नेपाली दुतावास अवुधावीले बैदेशिक रोजगार प्रवर्द्वन बोर्डलाई पत्राचार गरेको थियो । बोर्डले ब्लडमनि बापतको रकम सहयोग गर्न कानुनी व्यावस्था नरहेको भन्दै सहयोग गर्न नसकिने व्यहोराको जवाफ पठाएको छ । टोपबहादुरको सहयोगका लागी एनआरएन आईसिसि ले ब्लडमनिको दश प्रतिशत सहयोग गर्ने जनाएको छ ।

Avatar

Next Story