ऋषि धमलालाई मधेशबाट उम्मेद्धवार बनाउनेबारे खुमबहादुरले बैठकमै यस्तो भनेपछि….

  • ११ कार्तिक २०७४, शनिबार १५:३३
  • 78572 Views


काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई कांग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त उम्मेद्धवारको रुपमा २ नम्बर प्रदेशको जुनसुकै जिल्लाबाट उठेपनि टिकट दिने तयारी गरेका छन् ।
धमला मधेशबाट चुनाव उठ्ने हल्लासँगै अहिले विभिन्न मिडियामा उनको बारेमा चर्चा हुन थालेको छ। राजपा नेपालले त पत्रकार धमलालाई रौतहटको क्षेत्र नम्बर ४ बाट उम्मेद्धवार बनाउनेबारे सहमति नै गरेको खुलासा महासचिव केशब झाले गरेका थिए ।

झाले एक सार्वजनिक कार्यक्रममै पत्रकार धमलाजस्तो चर्चित फेसलाई आफ्नो पार्टीबाट उम्मेद्धवार बनाउन पाईए गर्वको विषय हुने समेत तर्क गरेका थिए । उनले भनेका थिए,‘ऋषिजीजस्तो चर्चित फेसलाई मधेशी जनता र सिंगो मधेशले नै स्वागत गर्छ, उहाँलाई सर्वसम्मतीले साझा उम्मेद्धवार बनाउने तयारी भैरहेको छ, हाम्रो पार्टीले त धमलाजीलाई फोन गरेर नै गो अ हेड भनिसकेको छ।’

यता नेपाली कांग्रेसको संसदीय बोर्डमा समेत पत्रकार धमलालाई चुनाव उठाउनेबारे छलफल प्रारम्भ गरिसकेको सदस्य डा. प्रकाशशरण महतले जानकारी गराएका थिए । उनका अनुसार धमलालाई आफूहरुले रौतहटमै पहल गर्न आग्रह गरेको जनाएका थिए । उनले थपे,‘संसदीय बोर्डको बैठकमा यसबारेमा कुरा उठेको छ, ऋषिजी जतिको चर्चित व्यक्तित्व, लोकतान्त्रिक आन्दोलनमा जहिल्यैपनि अग्रपँक्तिमा रहेर काम गर्नुभएको छ, उहाँलाई टिकट दिए राम्रो हुन्छ भनेर आवाज उठेको छ।’

हुन त बोर्डको बैठकमा नेता खुमबहादुर खड्काले यसबारेमा पत्रकार ऋषि धमलालाई नै सोध्नुपर्छ भनेर आवाज उठाएका थिए । उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘हामीले त ऋषिजीलाई चुनाव उठाउनुपर्छ भनेर भन्यौं, तर उहाँलाई सोध्नुपर्यो नि, यसबारेमा उहाँको धारणा के छ, उठ्ने हो कि होईन।’ खड्काले त पत्रकार धमलालाई धादिङबाटै टिकट दिएपनि चुनाव जित्ने भन्दै नेताहरुको ध्यानाकार्षण समेत गरेका थिए ।

यता राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले त पत्रकार धमलालाई चुनाव लड्न आए रौतहटमा मात्रै नभएर सर्लाहीमा पनि वेलकम छ भनेको खुलासा भएको छ । पत्रकार धमलालाई फोनमा नेता महतोले समेत राजपा, फोरम र कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्न आग्रह गरेका थिए । मधेशको जुनसुकै जिल्लाबाट चुनाव लड्न चाहेपनि सहयोग गर्ने वचन दिएका हुन् ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालले त झनै सुरुमै उनलाई यसबारेमा प्रस्ताव गरिसकेको छ । पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले धमला आफ्नो पार्टीबाट चुनाव लड्न आए ‘रातो कार्पेट’ नै विछ्याउन तयार रहेको बताएका थिए ।
पत्रकार धमला नेपाली कांग्रेस धादिङबाट समानुपातिकबाट सिफारिश भएका हुन् । उनको नाम पहिलो नम्बरमा थियो । तर उनले समानुपातिकमा नबस्ने भन्दै उक्त प्रस्ताव अस्विकार गरेका थिए ।

Avatar

Next Story